बुझक्की हुने होडमा,
मैले आफैलाई बुझ्न छोडे जस्तो लाग्दै छ,
अरूका अर्थ खोज्दै,
आफ्नै भावना अनर्थमा डुबे जस्तो लाग्दै छ ।

शब्दहरू बटुल्दै हिडें,
तर मौनताले नै अर्थ दिए जस्तो लाग्छ,
प्रश्नहरू लेख्दै गएँ,
तर उत्तरहरू भित्रै गुम्सिए जस्तो लाग्छ ।

समाजको ऐनामा आफैलाई हेर्दै,
तर अनुहार चिन्न नसकेको अनुभूति,
अरूका दृष्टिमा सही देखिन खोज्दा,
आफ्नै नजर धुंधला बनेका छन् आजभोलि ।

साँच्चै, बुझाइको भारले
यदि आफैंलाई हराउने भए,
कि छोडौं यो होड,
कि फेरि आफैंभित्र फर्कौं, एकपल ।